काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा मुलुकको गौरवको भएको बताएका छन् ।
राधाकृष्ण मन्दिर विराटनगर-१ मा आज रथयात्राको निरीक्षणमा पुगेका उनले यो यात्रा कोशी प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गरे । उनले रथ यात्रालाई भव्य रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको भन्दै हेलिकप्टरबाट पुष्प वृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरिएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीलाई राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी र सदस्य नन्दकिशोर राठी, कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा जानकारी गराएको थियो ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिन्छ । रथयात्रामा नेपाल तथा भारतका भक्तजनहरूको सहभागिता हुने गरेको छ ।







