काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नियुक्त भएको एक महिना पुगेको अवसरमा सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कार्यशैली पारदर्शी, निष्कलंक र निष्ठासहित अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उनले स्पष्ट शब्दमा भनिन्, “प्रमाण लिएर आएको दिनमा म दण्डित हुन तयार छु। कर्मचारीको तर्फबाट कमजोरी भएको रहेछ भने पनि म दण्डित गर्न कुनै कसर बाँकी राख्दिन। जसले त्यो प्रमाण ल्याउँछ, ल्याउनेहरूलाई पुरस्कारको व्यवस्था हुन्छ, मेरोतर्फबाट।”
मन्त्री न्यौपानेले पुनः जोड दिँदै भनिन्, “कमजोरी गर्नेलाई दण्ड र कमजोरीको प्रमाण लिएर आउनेलाई पुरस्कार हुनेछ। मैले मेरो राजनीतिक जीवनमा पटक-पटक भनेको छु, मेरा हातमा सुनका डल्ला फलाउनका निम्ति मैले राजनीति गरेको होइन, मैले त समाज बलाउनकै निम्ति राजनीति गरेको हो।”
उनले आफूलाई प्राप्त जिम्मेवारी अत्यन्त पारदर्शीताका साथ निर्वाह गर्ने दृढ निश्चय व्यक्त गर्दै भनिन्, “आज मलाई जे जिम्मेवारी आएको छ, मैले जे जिम्मेवारी पाएको छु, यसबाट म पारदर्शी भएर काम गर्छु। कहिँकतै पनि अलिकति पनि कमजोरी नभईकन काम गर्ने हो। त्यसका लागि सबैले सुझाव दिनुहोस्, कमजोरी देखाइदिनुहोस्। करेक्सन गर्नका निम्ति मेरो तर्फबाट कुनै कमी हुँदैन। मैले तपाईँहरूको बीचमा प्रतिबद्धता नै व्यक्त गर्छु।”
“जहाँसम्म पारदर्शीताको कुरा हो भने त पटक-पटक कसम खान्छु। एक पटक हैन, सयौँ पटक कसम खान्छु। सयौँ पटक बाचा गर्छु। कुनै पनि हालतमा मेरो तर्फबाट कुनै कमजोरी हुँदैन, कुनै अनुचित लेनदेन हुँदैन। प्रमाण पाउनुभयो भने यो रेकर्ड सुरक्षित हुन्छ नि त।” उनले पारदर्शीताप्रति पुनः प्रतिज्ञा जनाउँदै भनिन् ।
मन्त्री न्यौपानेले आफ्नो नाम लिई अनुचित काम गर्ने जो-कोही भए तुरुन्तै जानकारी दिन आग्रह गर्दै भनिन्, “मेरो नाम लिएर कसैले अनुचित लेनदेन गरेको छ भने मलाई भन्नुहोस्। प्रमाणसहित भन्नुहोस्। तपाईँहरूले समाचार लेख्दा पनि धेरै हिसाबले भेरिफाई गरेर लेख्नुहोस्, धेरै कोणबाट भरिफाई गरेर लेख्नुहोस्।”
सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भनिन्, “कसैले भनेकै आधारमा, कसैले सुनाएकै आधारमा नलेखिदिनुहोस्। किनभने यो नेपाली समाजलाई स्वच्छ बनाउने दायित्व पत्रकार, कर्मचारी, राजनीतिज्ञ र सरकार सबैले मिलेर गर्ने हो। बिना प्रमाण कसैले केही भनिदियो भने त्यसैलाई आधार बनाएर समाचार सम्प्रेषण नगरी दिनुहोस्।”
उनले कर्मचारी प्रशासनमा विगतमा बाहिरबाट समेत चलखेल हुने गरेको स्वीकार गर्दै भनिन्, “होला कमजोरी कहिँकतैबाट हुन्छ। कर्मचारीबाट नहुँदा नहुँदै पनि बाहिर-बाहिरै चलखेल गर्ने गरेका विगतका कुराहरू पनि हामीले सुनेका छौँ। अहिले पनि त्यस्तो हुन सक्छ। कर्मचारीबाट पनि कमजोरी भएको छैन, मन्त्रीबाट पनि कमजोरी भएको छैन, बाहिर कसैले चलखेल गरेर कमजोरी गरिदिन्छ। त्यस्तो छ भने पनि ल्याउनुहोस्। मसँग जोडिएका कोही साथीभाइहरूले कमजोरी गरेका छन् भने पनि ल्याउनुहोस्।”
पछिल्ला केही वर्षमा कर्मचारी सरुवामा व्यापक चलखेल हुने समाचारहरू बारम्बार सार्वजनिक भएका छन्। यसअघिका एक मन्त्री त कर्मचारी सरुवामा घुस अडियो डिल गरेको अभियोगमै मन्त्री पद गुमाउन पुगेका थिए। यस्ता उदाहरणका कारण अहिले मन्त्री न्यौपानेले गरेको पारदर्शिता र निष्कलंकताको प्रतिज्ञा व्यवहारमै कत्तिको लागू हुन्छ भन्ने प्रश्न गम्भीर बनेको छ।
उनको भनाइ र गराइ विगतका चलखेललाई रोक्ने दिशामा ऐतिहासिक मोड ल्याउँछ वा त्यसैगरी दोहोरिन्छ भन्ने कुरा समयले नै निर्धारण गर्नेछ।







