२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामदारको हितमा नमूना अभ्यास गरिरहेको नेपाली दूतावास साउदी

अ+ अ-

साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत ४ लाख भन्दा धेरै नेपाली श्रमिकको सुरक्षा र हितका लागि उदाहरणीय काम गरिरहेको छ ।

काठमाडौँ । साउदी अरब अहिले नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मुलुक हो । रियादस्थित नेपाली राजदूतावासको तथ्यांक अनुसार त्यहाँ अहिले ४ लाख भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । ‘साउदी डेभलपमेन्ट भिजन २०३०’ बमोजिम साउदी अरब सरकारले अहिले विकास पूर्वाधारमा ठूलो रकम खर्च गरिरहेकाले नेपाली श्रमिकको आकर्षण त्यहाँ बढ्दो छ र संख्या पनि क्रमश: बढिरहेको छ ।

तर नेपालबाट साउदी पुगेका श्रमिकहरु मुलत: अदक्ष वा कम दक्ष छन् । उनीहरु धेरैजसो जोखिमपूर्ण काममा संलग्न हुँदै आएका छन् भने कामदारका लागि निर्धारित कतिपय नियम र मापदण्डबारे पनि कमै जानकार छन् । यही अवस्थालाई ध्यानमा राखेर रियादस्थित नेपाली दूतावासले नेपाली श्रमिकको सुरक्षा र हितका लागि केही उदाहरणीय काम गरिरहेको छ । त्यहीक्रममा दूतावासले हालसालै एउटा हाते पुस्तिका नै प्रकाशन गरेको छ जसले नेपाली श्रमिकको सुरक्षा र हितका लागि दूतावासले गरिरहेका पहलको एकमुष्ठ तस्वीर देखाउँछ ।

‘वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहँदा ध्यान दिनुपर्ने विषय तथा जानकारी सम्बन्धी हाते पुस्तिका, जुन २०२५’ यसको सांगोपांगो चित्र हो ।

नेपाली श्रमिकले जान्नैपर्ने कुरा
हाते पुस्तिकामा साउदी अरबमा बस्ने नेपाली श्रमिकहरूले जान्नैपर्ने विषयहरु लिपिबद्ध गरिएको छ जसले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई आइपर्न सक्ने अनेक कठिनाइबाट सुरक्षित गर्न मार्गनिर्देश गर्ने छ । हाते पुस्तिकामार्फत् दूतावासले आफूले प्रदान गर्ने सेवाका विषय अवगत गराउँदै ती सेवा कसरी सहजै र सरल तरिकाले प्राप्त गर्न सकिन्छ भन्ने जानकारी पनि गराएको छ । त्यसका लागि दूतावासले आफ्नो फेसबुक फेज लाइक, फलो र सेयर गर्न आग्रह गरेको छ जहाँ नेपाली सम्बन्धी सबै जानकारी र सूचना अद्यावधिक भइरहेका हुन्छन् ।

हाते पुस्तिकामार्फत् दूतावासले नेपाली श्रमिकका लागि अरु कैयौँ कुरा पनि जानकारी गराएको छ, जस्तो–
– नेपालबाट आउँदा आफू आउने कम्पनीको नाम, सम्पर्क नम्बर, लोकेशन, कम्पनीको दर्ता नम्बर (सीआर नम्बर) अनिवार्य रूपमा मेनपावर कम्पनीबाट लिएर आफूले सुरक्षित राख्ने तथा परिवारका सदस्यलाई समेत सुरक्षित राख्न लगाउनु होला ।

– आफ्नो पासपोर्ट, भिष्सा पेज, बोर्डर नम्वर, अकमाको फोटो राम्रोसँग फोटो खिचेर सुरक्षित राख्नुहोला । यसको डिजिटल प्रति नेपालमा परिवारका सदस्यलाई पठाउनु होला ।

– अकामा बनेपछि अकामाबाट तुरुन्त अब्सेर अकाउन्ट र क्विवा अकाउन्ट खोल्नुहोला । यी दुबै अकाउन्ट वोर्डर नम्बरबाट पनि खोल्न सकिन्छ । (साउदी सरकारले सरकारी एप्लिकेसनको रुपमा हरेक व्यक्तिको सूचना अभिलेख गर्न र नागरिकलाई अनलाइन सेवा लिन प्रयोगमा ल्याएको एप्लिकेसन नै अब्सेर हो । त्यस्तै, साउदी अरबमा सबै श्रमिक र रोजगारदाताबीच भएको आधिकारिक सम्झौतालाई अनलाइन अभिलेख राखिएको हुन्छ । त्यो नै क्विवा हो।)

– आफ्नो विश्वासिलो साथीलाई नेपालको सम्पर्क नम्बर उपलब्ध गराउनु होला । तपाईँलाई कुनै समस्या परेमा घर परिवारलाई खवर गर्न सो नम्बर आवश्यक पर्नसक्छ ।

– हुरुप लाग्नेबित्तिकै वा अकामाको म्याद सकिएपश्चात् नेपाल जानको लागि बहिर्गमन भिषा (एक्जिट भिसा) को प्रक्रिया शुरु गरिहाल्नुहोला। । कम्पनीले नेपाल पठाउला भनेर विश्वास गरेर नबस्नुहोला । अन्यथा तपाईँ आवश्यक परेको बेला तुरुन्त घर जान सक्नुहुन्न । एक्जिट प्रक्रिया गर्न अकामा जुन क्षेत्रबाट बनेको हो, सोही क्षेत्रमा रहेको नेपाली दूतावासबाट प्रक्रिया गर्नुपर्ने हुन्छ ।

– कुनै समस्या भएमा सबैभन्दा पहिले कम्पनीलाई जानकारी गराउनु होला । कम्पनीले समाधान नगरिदिएमा मेनपावर कम्पनी, वैदेशिक रोजगार विभाग र दूतावासमा लिखित निवेदन पेश गर्नुहोला । दूतावासबाट समन्वय गर्दा समस्या समाधान नभए तुरुन्त श्रम अदालत (लेबर कोर्ट) मा उजुरी गर्नुहोला ।

– दूतावासमा निवेदन पेश गर्दा आफ्नो नाम, पासपोर्ट र अकामाको विवरण, कम्पनीको नाम र सम्पर्क नम्बर, साउदी आएको समय, हाल कार्यरत रहेको स्थान, मेनपावरको विवरण र समस्याको विस्तृत विवरण उल्लेख गर्नुहोला ।

– आफ्नो अब्सेर अकाउन्ट एक्जिट लागेको छ वा छैन चेक गरिरहने गर्नुहोला । एक्जिट लगाएको देखिएमा तोकिएको म्यादभित्र नै साउदी अबर छोड्नुपर्ने हुन्छ । नत्र पुन: एक्जिट लगाउन नसकिने र ठूलो रकम जरिवाना तिर्नुपर्ने अवस्था हुन सक्छ ।

– तपाईंको अकामाको म्याद रहेको, कम्पनीले कुनै जानकारी नदिई एक्जिट लगाएको छ भने अर्को नयाँ कम्पनीले तपाईँलाई कफला लिने प्रतिवद्धता–पत्र चेम्वर अफ कमर्शबाट प्रमाणित गरेर लेबर अफिसमा पेश गरेमा तपाइको पहिलो कम्पनीले लगाएको एक्जिट भिसा क्यान्सिल हुनसक्छ ।

– सडक नियमको पालना गर्नुहोला । सानो हेलचेक्रयाईंले गर्दा पनि अपुरणीय क्षति हुनसक्छ ।

– यदि तपाईँ कुनै औषधि प्रयोग गरिरहनु भएको छ वा अन्य कसैलाई औषधि ल्याउदै हुनुहुन्छ भने तपाईँको साथमा डक्टर प्रेस्क्रिप्सन अनिवार्य रूपमा हुनुपर्छ ।

– समस्या समाधानका लागि दूतावासको मोबाइल नम्बरमा सम्पर्क गर्दा भरसक आफ्नो समस्याको पूर्ण विवरण लेखेर ह्वाट्सएपमा पठाउनु होला । आफ्नो जिज्ञासा तथा सूचनाका लागि मात्र फोन गर्नुहोला ।

– तपाईँ विरामी भई उपचार भएको छ भने सम्पूर्ण मेडिकल रिपोर्टहरू सुरक्षित राख्नुहोला । यी कागजात तपाईँको एक्जिट भिसा लगाउन आवश्यक पर्नसक्छ । साथै दुर्घटनामा परेको व्यक्तिको कुनै अंग क्षति भएको रहेछ भने नेपालबाट पाइने क्षतिपूर्तिका लागि पनि ती कागजात आवश्यक पर्छ ।

– साउदी सरकारी निकायहरूका केही अत्यावश्यक हटलाइन सेवाहरू: ट्राफिक प्रहरीलाई खबर गर्न– १९९०३३, प्रहरीलाई गुनासो गर्न (सुरक्षा सम्वन्धी)– ९११/९९९, श्रम सम्वन्धी गुनासो राख्न– १९९११, एम्वुलेन्स सेवाका लागि–९९७, मानव अधिकार उल्लघंन सम्बन्धी गुनासो राख्न– १९९२२ आफूसँग राख्नुहोला ।

साउदी अरबमा के चाहिँ नगर्ने ?
दूतावासले हाते पुस्तिकामार्फत् साउदी अरबमा कार्यरत नेपाली श्रमिकले के चाहिँ गर्नु हुन्न भन्ने पनि बिस्तृतमा जानकारी गराएको छ । यी यस्ता सूची हुन् जसले नेपाली श्रमिकलाई आइपर्ने अनेक खाले आपत्बाट जोगाउन सक्छ । दूतावासले त्यसका लागि नेपाली श्रमिकहरुलाई हमेसा सचेत गराइरहेको छ, जस्तै;
– कोही कसैले खाली कागजमा सही गराउन खोजेमा नपढी वा नबुझी हस्ताक्षर नगर्नुहोला ।

– साउदी अरब आएपश्चात् अनधिकृत स्थानबाट सिम कार्ड नलिनुहोला । साउदीको आधिकारिक निकायबाहेक अन्य स्थानमा फिङ्गरप्रिन्ट (औंठाछाप) नदिनुहोला ।

– आफ्नो अब्सेर अकाउन्ट र क्विवा अकाउन्टको पासवर्ड र मोवाइलमा आएको ओटीपी अति गोप्य राख्नुहोला र कसैलाई नदिनुहोला । कसैले फोन गरेर विभिन्न प्रलोभन देखाएर वा डर धम्की दिएर माग्न सक्छ, त्यो सबै झूट हो, कसैलाई पनि नदिनुहोला । क्विवामा आएको ओटीपी तपाइलाई इम्प्लोइमेन्ट कन्ट्रयाक्टमा लेखिएका शर्त/सेवा सुविधा मञ्जुर भएमा मात्र दिने हो, अन्यथा नदिनु होला । किनकी क्विवा कन्ट्रयाक्टमा उल्लेखित मिति भन्दा अगाडि तपाईं स्वदेश फर्कन सक्नु हुन्न ।

– यहाँ गाडी चलाउने ड्राइभर साथीहरूले विशेष ख्याल गर्नुहोला । तपाईँलाई लगाएको सडक जरिबाना तिर्नुपर्ने जिम्मेवारी कानूनी रुपमा तपाईँको नै हो । कम्पनीले तिरिदिन्छु भनेको भरमा विश्वासमा परी जरिबाना आउने गरी ड्राइभिङ वा अन्य कुनै पनि कार्य नगर्नुहोला ।

– साउदी अरवमा हालका दिनहरूमा राम्रो तलव भत्ता दिने प्रलोभनमा पारेर कार्यरत कम्पनीबाट भगाउने र अलपत्र पार्ने घटना बढिरहेको पाइएकोले यसमा सचेत रहनुहोला ।

– रक्सी, लागुपदार्थ कारोबार हुने वा उपलब्ध हुने वा उत्पादन हुने वा ओसारपसार गर्ने वा जमघट हुने स्थानमा कहिल्यै पनि नजानुहोला । यो कार्य साउदी अरबमा दण्डनीय छ ।

– अनलाइन सपिङका लागि अर्डर गरेर सामान लिनुभएन भने त्यो बिल वरावरको रकम तपाईँलाई फाइन हुनसक्छ । त्यसकारण अनलाइन सपिङ गर्दा पनि यो कुरामा ध्यान दिनुहोला ।

– तपाईँले कुनै पनि हालतमा कम्पनी छोडेर नभाग्नु होला । कम्पनी छोड्नैपर्ने अवस्था आएमा वा नछोडी नहुने अवस्था आएमा सबैभन्दा पहिले कम्पनीलाई लेबर कोर्टमा उजुरी गर्नुहोला ।

– एक्जिट प्रक्रियाका लागि तपाईंले काम गर्न छोडेको हुनु पर्दैन । एक्जिट प्राप्त गर्न लामो समय लाग्ने भएकोले आफूले गरिरहेको काम नछोड्नुहोला । तपाईँले काम गरिरहेको अवस्थामा नै एक्जिट लाग्छ ।

– कुनै पनि खाली कागज वा अरबिक भाषामा लेखिएको कागजातहरूमा नपढी वा नबुझी सही छाप नगर्नुहोला ।
– तपाईँको अब्सेर वा क्विवा वा मोबाइलमा कुनै म्यासेज आएमा त्यस्तो म्यासेजलाई वेवास्ता नगर्नुहोला । म्यासेज नेपाली वा अंग्रे्रेजीमा अनुवाद गरेर हेर्नुपर्छ । त्यो म्यासेज महत्वपूर्ण हुनसक्छ ।

– आफ्नो नामबाट फोनको सिमकार्ड झिकेर कसैलाई नदिनुहोला । त्यस्तै, अरुको रकम आफ्नो बैंक खाताबाट नेपाल नपठाउने, साउदी सरकारी निकाय वा संवेदनशील स्थानको फोटो नखिच्ने, साउदीमा भएको कुनै पनि घटनाको भिडियो वनाएर सामाजिक सञ्जालमा अपलोड नगर्ने कुरामा ध्यान दिनुहोला ।

– तपाईँलाई कुनै पनि प्रकारको जरिबाना छ भने तपाईँले कुनै पनि माध्यमबाट साउदी अरब छोडेर जान सक्नुहुन्न । तपाईँले जरिबाना तिरेपश्चात् मात्र एक्जिट भिसा लाग्छ । यो कुराको हेक्का राख्नुहोला ।

– साउदी अरवमा झैँ–झगडा नगर्नु होला । यहाँ सामान्य झगडामा पनि ठूलो सजाय हुनसक्छ । त्यसैले आफ्नो आक्रोशलाई नियन्त्रण गर्नुहोला ।

– यदि तपाईँले चलाएको गाडी दुर्घटना भएमा तपाईँले नज्म/ट्राफिक प्रहरीलाई खबर गर्नुहोला । भाग्ने प्रयास नगर्नुहोला । जहाँ दुर्घटना भएको हो सोही स्थानमा रहनुहोला, भागेमा तपाईँको शतप्रतिशत गल्ती ठहर हुनेछ । कसको कति प्रतिशत गल्ती हो, सो को निर्धारण ट्राफिक प्रहरीले गर्ने भएकोले तपाईँले स्पष्ट रुपमा आफ्नो विषयहरू प्रहरीसँग राख्नुहोला ।

– अकामा नभएको वा नवीकरण नभएको वा साथमा नलिई हिडेको अवस्थामा साउदी प्रहरीले पक्राउ गरेमा प्रत्येक पटकको लागि १००० रियाल फाइन लगाउँछ । त्यसैले यस्तो अवस्थाको व्यक्तिले अत्यावश्यक काममा बाहेक बाहिर निस्कनु हँुदैन । यो कुरामा ध्यान दिनुहोला ।

– सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट, छोटा हाफप्यान्ट लगाएर नजानु होला । प्रार्थनाको समयमा ठूलो आवाजमा गाना बजाउने, सार्वजनिक स्थानमा थुक्ने वा फोहोर गर्ने, जेष्ठ नागरिक वा महिलालाई रिजर्भ गरिएको ठाउँमा वस्ने, लाइन मिच्ने, अमर्यादित चित्र वा यौनजन्य हाउभाउ प्रदर्शन गर्ने, ट्राफिक दुर्घटना वा अन्य अपराधजन्य घटनाको फोटो वा भिडियो खिच्ने वा अपलोड गर्ने लगायतका सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने अन्य कार्यहरू नगर्नु होला । यस्तो कार्य गरेमा तपाइलाई ठुलो रकम जरिबाना लगायत अन्य सजाय समेत हुन सक्छ ।

राहदानी नविकरण सेवा
वैदेशिक रोजगारका क्रममा साउदी आएका नेपालीले भोगिरहने अर्को समस्या हो, राहदानीको म्याद सकिनु । म्याद सकिएमा नेपाली श्रमिक साउदीमा बस्न पनि अयोग्य हुन्छन् । म्याद सकिएमा राहदानी नविकरण कसरी गर्ने त ? रियादस्थित नेपाली दूतावासले यसका लागि पनि सजिलो व्यवस्था गरेको छ । र यहीँ बसीबसी राहदानी नविकरण गर्ने व्यवस्था मिलाएको छ ।

“आफ्नो राहदानीको म्याद कति बाँकी छ, थाहा पाइ राख्नुहोला । राहदानीको म्याद १ वर्ष भन्दा कम हुँदै नवीकरण गर्न सकिन्छ,” दूतावासले सूचनामा उल्लेख गरेको छ । यही सूचना र बिस्तृत विवरण हाते पुस्तिकामा पनि समेटिएको छ । दूतावासले पुस्तिकामा र आफ्नो वेबसाइटमा राहदानी नवीकरणका लागि अबलम्बन गर्नुपर्ने प्रक्रियाको लिङ्क र क्यूआर कोड समेत उपलब्ध गराएको छ जसबाट राहदानी नविकरणका लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाइन फारम सबमिट भएपछि क्यूआर कोड वा बारकोडसहितको प्रिन्ट कपी लिएर अपोन्टमेन्ट पाएको दिन राजदूतावास रियादको राहदानी शाखामा सम्पर्क गर्न सकिन्छ । दूतावासमा फोटो खिचेर दस्तुर तिरेपछि दूताबासकै फेसबुक पेजबाट नेपाली श्रमिकले थप जानकारी पाउँछन् । राहदानी बुझ्न दूतावास आउँदा पुरानो राहदानी र दस्तुर बुझाएको रसिद भने साथमा ल्याउनुपर्छ ।

साउदी अरबस्थित नेपाली राजदूतावासका काउन्सेलर कविराज उप्रेतीका अनुशार रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका नेपाली श्रमिकहरुलाई लक्ष्यित गरी दूतावासबाट प्रदान हुने सेवा, सुविधा तथा यहाँ अपनाउनुपर्ने सजगताका बारेमा अपनाउनुपर्ने सजगता लगायतका विषयमा थप सुसूचित गराउने अभिप्रायले हाते पुस्तिका प्रकाशन गरिएको हो ।

भाषागत समस्यासँगै प्रक्रिया नै थाहा नपाएर दु:ख पाउने नेपालीहरुको संख्या अत्याधिक रहेकोले त्याहाँस्थित नेपालहरुले दु:ख नपाउन् भनेर दूतावासले जानकारी दिन शुरु गरेको उनको भनाई छ । ‘कैयन नेपाली स्वदेश फर्किन चाहेर पनि एक्जिट भिसा अनिवार्य छ भन्नेसमेत जानकार नभएको देखिन्छ’, उनले प्रशासनसँग भने, ‘यसको प्रक्रियाकै लागि महिनौं लाग्छ तर त्यो थाहा नपाउँदा अलपत्र जस्तै परेको पनि भेटिए’

‘नेपाली श्रमिकले गन्तव्य मुलुकमा जानुअघि त्यहाँको कानुन, कामको अवस्था र प्रकृतिबारे पर्याप्त जानकारी लिनैपर्छ । विशेषगरी साउदी अरब जस्तो कठोर कानुन भएको देशमा सामान्य त्रुटीमै ठूलो सजाय हुन सक्छ,’ उप्रेतीले भने, ‘त्यसैले सचेतनामूलक पुस्तिका २०२५ सबै श्रमिकका लागि मार्गदर्शक हुनेछ ।’

सन् १९७७ मा नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसको अर्को वर्ष, सन् १९७८ मा नेपालले रियादमा दूतावास स्थापना गरेको हो ।

साउदी अरब नेपालको महत्वपूर्ण श्रम गन्तव्य रहेको सन्दर्भमा यहाँ रहेका नेपालीको हकहितको प्रबद्र्धन र संरक्षण गर्न दूतावासले निरन्तर कूटनीतिक पहल गर्दै आइरहेको राजदूत डा. नरेशविक्रम ढकालले बताए । नेपाली श्रमिकलाई समेत आकर्षित हुने साउदी अरबका कानूनी प्रबन्धमा भएका परिवर्तनहरु यथाशीघ्र यहाँका नेपाली समुदायमा पुर्याउन दूतावासको आधिकारिक फेसबुक पेज र वेबसाइटबाट सम्प्रेषणको काम हुँदै आइरहेको उल्लेख गर्दै उनले साउदी अरबबाट हुनेगरेको अनलाइन सेवा प्रवाहमा हुने नियमित अद्यावधिक र अधिकांश नेपाली श्रमिकको सीपको अवस्थालाई समेत मध्यनजर गरी सम्भावित समस्याहरुबाट बच्न हाते पुस्तिकाले थप सहज बनाउने उल्लेख गरे । “यसलाई सकेसम्म धेरै नेपालीसमक्ष पुर्याउन साउदीमा सक्रिय नेपाली संघसंस्थाबाट सक्रिय सहयोग हुने अपेक्षा छ,” राजदूत डा. ढकालले भने ।