काठमाडौँ। नेपाली काँग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको बैठक स्थगित भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति, रुपन्देही–३ को उपनिर्वाचन लगायतमा छलफल गर्न सभापति देउवाले बैठक डाकेका थिए।दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा डाकिएको थियो ।
पार्टी स्रोतका अनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएका थिए । अर्को बैठकका लागि सूचित भने गरिएको छैन ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे काँग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन्।
रुपन्देही–३ को विषयमा महामन्त्री शर्माले शीर्ष बैठकमा ब्रिफिङ गर्ने बताइएको थियो । शर्मा क्षेत्रमा पार्टीको अवस्था बारेमा बुझ्न दुई पटक रुपन्देही-३ पुगेर फर्केका छन् । रुपन्देही-३ को उम्मेदवारको विषयमा काँग्रेसमा हालसम्म छलफल भएको छैन।
पार्टी विधान अनुसार केन्द्रले नाम सिफारिस गर्न परिपत्र गरेपछि क्षेत्रले एक महिला सहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्दछ । कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि आकांक्षीहरुको नाम पठाउन काँग्रेसले हालसम्म तल्लो तहलाई परिपत्र गरेको छैन ।







