काठमाडौँ । असल अभ्यासका लागि प्रमुख प्रशासकीय अधिकृतहरूले १३ बुँदे घोषणापत्र जारी गरेका छन् ।
जिल्ला समन्वय अधिकारी र स्याङ्जाका ११ वटा प्रमुख प्रशासकीय अधिकृतले असल अभ्यास सम्बन्धी १३ बुँदे घोषणापत्र जारी गरेका हुन्। स्याङ्जामा पहिलो पटक यस्तो अभ्यासको प्रारम्भ भएको हो।
चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेका अनुसार छिटो, छरितो प्रशासनिक सेवा प्रवाहसँगै नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला समन्वय अधिकारी र यहाँका ११ वटै स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतले घोषणापत्र कार्यान्वयनको प्रतिबद्धता जनाएका हुन्।
स्याङ्जा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा समन्वय अधिकारी नवराज बरालले पालिका अनुरूप छलफल र परामर्शपछि उक्त घोषणापत्र जारी भएको बताए। सोही कार्यक्रममा पालिकाले गरेका असल कामका बारेमा सिकाइ आदानप्रदान गरेका छन्।
घोषणापत्रमा वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, दैनिक प्रशासकीय कामलाई नागरिकमैत्री बनाउन नियमित रूपमा समन्वय र सहकार्य गर्ने उल्लेख छ।







