काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् ।
३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रूपमा गणेशबहादुर केसी र सदस्य सचिवको रूपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।
पहिलो चरणमा ११३ जना पीडितबाट परेका २८ वटा जाहेरीहरूको अनुसन्धान गरी ३० जनालाई प्रतिवादी बनाउँदै १० जेठ २०८० मा मुद्दा दायर भएको थियो ।







