काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन । उनले उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् ।
माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणा पत्रमाथिको अन्तरक्रिया’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जलवायु परिवर्तनको असरलाई पुँजीवादी विकास मोडलको असफलताको परिणामका रूपमा चित्रित गरे ।
अध्यक्ष दाहालले भने, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा छ । यसको समाधान यदि सही ढंगले गर्न सकिएन भने यो संकट झन् गहिरो हुँदै जानेछ ।”
अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तरराष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाएको उल्लेख गर्दै भने, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तरराष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भीर ढंगले उठाउँदै आएका छौँ ।”
उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणाकै कारण कार्बन उत्सर्जन भइरहेता पनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले व्यहोर्नुपरेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएकामा विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष दाहालले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भए पनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।
कार्यक्रममा तयार पारिएको अवधारणा पत्रको प्रशंसा गर्दै अध्यक्ष दाहालले यो केवल पार्टीको दस्तावेजमात्र नभई अन्तरराष्ट्रिय हस्तक्षेप र संवादको महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्तिबहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेता तथा विज्ञहरूको समेत उपस्थिति थियो ।







