काठमाडौँ । इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर पुगेका छन्।
काठमाडौँ उपत्यकावासीले विशेष महत्त्वका साथ मनाउने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रहरी महानिरीक्षक कुबेरचन्द्र खापुङलगायत विशिष्ठ व्यक्तिहरू सहभागी हुन शनिवार वसन्तपुरमा पुगेका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि इन्द्रजात्रामा सहभागी भएका छन्। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ।
यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ।











