काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भिडन्त पक्का गरेको हो।
लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर लुम्बिनी सीधै फाइनल पुगेको थियो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई हराएर फाइनलमा स्थान बनायो।
यस संस्करणमा यी दुई टोलीबीच यसअघि भएका दुवै खेल लुम्बिनीले जितेको छ। फाइनल यो सिजन उनीहरूको तेस्रो भेट हुनेछ। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि उपविजेता बनेको थियो।





