काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको असोजमा १.४७ प्रतिशत रहेको मुद्रास्फीति दर एक वर्षमा ४.९० प्रतिशत बिन्दुले बढेको हो। यो अघिल्लो वर्ष सोही महिनाको दरको चार गुणाभन्दा बढी हो।
असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.४६ प्रतिशत रह्यो। अघिल्लो वर्षको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य २.५४ प्रतिशतले घटेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्य ३.८० प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो।
घिउ-तेलको मूल्य १६.४४ प्रतिशतले बढ्यो
खाद्य तथा पेय पदार्थतर्फ घिउ तथा तेलको मूल्य १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशतले बढेको छ। चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यवृद्धि १२.९७ प्रतिशत छ। मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.१० प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ।
मधेशमा सबैभन्दा बढी मुद्रास्फीति
प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत मुद्रास्फीति छ। ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ६.२८ प्रतिशतले बढेको छ।
भौगोलिक क्षेत्रअनुसार तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत, काठमाडौँ उपत्यकामा ५.९२ प्रतिशत र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।





