काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेन जेड आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा उनले युवापुस्ताले देश र समाजका लागि सकारात्मक परिवर्तन गर्ने अभिप्रायले पोखेको आक्रोशलाई आम चासोको विषय भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्तै दुस्खद् र निन्दनीय कार्य हो। यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत छ।”
पूर्वराजाले घटनामा ज्यान गुमाएका आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, यो आन्दोलन हिंसात्मक नबनोस्, अराजकतामा नफसोस् र यसमा बाह्य घुसपैठ नहोस् भन्ने धारणा पनि प्रष्ट पारेका छन्।
सुशासन र आर्थिक अनुशासनबारे उठेका मागप्रति ध्यान दिँदै पूर्वराजाले समस्याको समाधान देशभित्रै खोजिनुपर्ने आवश्यकता औँल्याएका छन्।








