काठमाडौँ । आन्दोलनकारीहरूले काठमाडौँ उपत्यकाका विभिन्न भवन संरचनामा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेन जेडमा घुसपैठ गरेर अराजक समूहले मंगलबार आगजनी गरेको थियो ।
व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरूमा लगाइएको आगो पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।
नक्सालस्थित हिल्टन होटेल र भाटभटेनी सुपर मार्केटमा अझै आगो बलिरहेको छ । नक्साल भाटभटेनीमा काठमाडौँ महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ । त्यस्तै कतिपय निजी सम्पत्तिमा लगाइएको आगो पनि निभेको छैन ।
नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयमा अझै धुवाँको मुस्लो आइरहेको छ ।
काठमाडौँ महानगरपालिकाले हिजो बेलुकादेखि ६ वटा दमकल खटाएको छ । ती दमकलले अहिले पनि विभिन्न स्थानमा आगो निभाइरहेका छन् ।
हिल्टन, टङगाल भाटभटेनी, सिंहदरबार, सर्वोच्च अदालत, पुरातत्त्व विभाग, थापाथली डाटा सेन्टर, जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्युरोडमा व्यक्तिको घरमा लागेको आगो निभाएको प्रहरीले जनाएको छ ।
हिल्टन र भाटभटेनीलगायतको ठाउँमा पटक-पटक आगो निभाउन जानुपरेको प्रहरीको भनाई छ।







