काठमाडौँ । २०८२ भाद्र २३ गतेदेखि जेन जेड समूहले देशव्यापी रूपमा सुरु गरेको आन्दोलनका क्रममा अराजक तत्त्वहरूको घुसपैठ बढ्दै गएको भन्दै संयुक्त सुरक्षा फौजले कोशी प्रदेशका स्थानीयवासीलाई सतर्क रहन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।
आन्दोलनको नाममा सरकारी भवन, बैंक, प्रहरी बिट, सपिङ मललगायत व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक आक्रमण गर्ने गतिविधि भइरहेको र अझै हुने सम्भावना रहेको कारण सम्पूर्ण नागरिकलाई सुरक्षाबारे सचेत रहन अनुरोध गरिएको हो।
संयुक्त सुरक्षा फौजले फरार अपराधी वा अपरिचित शंकास्पद व्यक्तिहरू देखिए वा फेला परेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। यससँगै, विभिन्न समूहले राजमार्ग वा मुख्य बाटोमा आगजनी तथा तोडफोड गरी अवरोध गर्न खोजेमा पनि तत्काल सुरक्षाकर्मीलाई खबर गर्न भनिएको छ।
आन्दोलनका क्रममा लुटिएका हतियार, एम्युनिशन वा अन्य उपकरणहरू बेवारिसे अवस्थामा फेला परेमा नजिकैको सुरक्षा निकायलाई बुझाउन वा जानकारी गराउन आह्वान गरिएको छ। साथै, जारी निषेधाज्ञा तथा कर्फ्युको नियम पालना गरी अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई चेतावनी दिइएको छ।
त्यस्तै, आफ्नो वरिपरिको व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा कसैले क्षति पुर्याउने वा अवाञ्छित गतिविधि गर्ने प्रयास गरे तुरुन्त सुरक्षाकर्मीलाई खबर गर्न भनिएको छ। यसरी मात्र कोशी प्रदेशमा शान्ति–सुरक्षा कायम गर्न सहयोग पुग्ने संयुक्त सुरक्षा फौजको भनाइ छ।
यसका लागि सम्पर्क नम्बरहरूसमेत सार्वजनिक गरिएको छ । जसमा पूर्वी पृतना हेड क्वाटर इटहरी ब्यारेक, सुनसरी ०२५-५८४९३३ र ९८५२०८१७०४ मा सम्पर्क गर्न सकिने छ भने नं. २ वाहिनी अड्डा, हिले ब्यारेक, धनकुटा : ०२६-५४०३७९ र ९८६३०२९०८३ मा सम्पर्क गर्न सकिने जनाइएको छ । त्यस्तै नं. १८ वाहिनी अड्डा, भुल्के ब्यारेक, उदयपुर : ०३५-४२०५६६ र ९८६२९९०१८६ तथा नं. २१ वाहिनी अड्डा, तोपगाछी ब्यारेक, झापा : ०२३-४७५२१७ र ९८६३७८००५४ मा सम्पर्क गर्न सकिने पूर्वी पृतना हेड क्वाटरले प्रशासनलाई जानकारी दिएको छ ।







