झापा । लागू औषध कारोबारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका-५मा बस्ने भानुभक्त खरेललाई नयाँ बसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मंगलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए। सो क्रममा प्रहरीले निजद्वारा सञ्चालित गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याब्लेट एम्पुलसहित ठूलो परिमाणमा लागू औषध बरामद गरेको थियो ।
प्रहरीले यसअघि खरेलका सहयोगी दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । बिर्तामोड-५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएका प्रहरी उपरीक्षक लिम्बूले बताए। निजको घरमा जाने सिँढीमुनी राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्राम डोल प्रहरीले बरामद गरेको हो ।
खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ पनि गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबैलाई लागू औषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको हो ।







