काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेन जेड प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिरिएका थिए । अदालतको आदेशबिनै बाहिरिएको भन्दै उनको आलोचना भएको थियो ।
शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किन लागेको बताएका थिए । उनले भनेका छन्, ‘पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो । आज न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुने छैन भन्ने विश्वासका साथ म कारागार फर्किंदैछु ।’
ललितपुर प्रहरीका अनुसार उनी केही बेर अघि कारागारमा फर्केका हुन् । यसअघि लामिछानेले आफू कानुनी प्रक्रिया पूरा गरेर बाहिरिएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर रहेको रिहाइ पत्र सार्वजनिक गरेका थिए ।
तर, नख्खु कारागार प्रशासनले उक्त पत्र फर्जी भएको दाबी गर्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्कन निर्देशन दिएको थियो । त्यससँगै उनी कारागार फर्किएका हुन् ।







