काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राष्ट्रिय गुप्तचर निकाय) आज राति १२ बजेदेखि नेतृत्वविहीन हुने भएको छ। विभाग प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाने भएसँगै विभागीय नेतृत्व रिक्त हुने भएको हो।
यससँगै नयाँ प्रमुखको नियुक्तिको चहलपहल सुरु भए पनि बदलिएको राजनीतिक परिदृश्यका कारण नयाँ चिफको नियुक्ति कहिले निर्णय हुनेछ भन्ने स्पष्ट छैन। जेन जेड आन्दोलनका कारण अस्तव्यस्त बनेको राजनीतिक र प्रशासनिक जटिलताबीच मुलुकले शुक्रवार मात्र नयाँ प्रधानमन्त्री पाए पनि मन्त्रिपरिषद् गठन हुन नै बाँकी छ ।
तर, जे जस्तो अवस्थामा भए पनि देशको प्रमुख गुप्तचर निकायको नेतृत्व धेरै समय रिक्त राख्नु उपयुक्त नहुने भएकोले, योग्य र कामयाबी प्रमुख छिट्टै नियुक्त हुने सम्भावना रहेको विभाग सम्बन्धित एक अधिकारीले बताएका छन्।
विभाग प्रमुखको लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी सरह) टेकेन्द्र कार्की र ओम जोशी प्रतिस्पर्धामा रहेका छन्।
जानकारहरूका अनुसार, देशका अधिकांश निकाय कामयाबी हुन नसकेकाले स-साना चुनौतीमा पनि अल्झिने गरेको अवस्थामा, राष्ट्रिय अनुसन्धान विभाग जस्तो संवेदनशील निकायको नेतृत्व कार्यक्षमतामा उच्च, वर्तमान परिवर्तित सन्दर्भ अनुसार निर्णय गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नु अत्यावश्यक छ।







