काठमाडौँ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुलुकमा भएको २७ घण्टे आन्दोलनका असर, क्षति र आगामी कार्ययोजनाबारे विस्तृत सम्बोधन गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो टिम र सरकारको उद्देश्य स्पष्ट पार्दै भनिन्, “म रहरले आएको होइन, सडकबाट उठेको आवाजले मलाई यहाँ ल्यायो। म सत्ताको रसास्वादन गर्न आएको होइन, मेरो उमेर पनि त्यस्तो होइन। ६ महिनाको सेवा अवधि तय गरेर यही अवधिमा काम पूरा गरी नयाँ आउने जनप्रतिनिधिलाई जिम्मा हस्तान्तरण गर्ने अठोटका साथ आएको हुँ। कर्मचारी र सुरक्षा निकायले साथ दिनुहोस्, मलाई सहयोग गर्नुहोस्।”
उनले भनिन्-“२७ घण्टामा भएको यो अभूतपूर्व आन्दोलनले देशभित्र व्यापक जनधनको क्षति पुर्याएको छ। ४० जना युवायुवतीहरूले आफ्नो जीवन गुमाउनुपर्यो भने सुरक्षा निकाय, प्रहरी बिट, सर्वोच्च अदालत तथा सिंहदरवार जस्ता महत्त्वपूर्ण संरचनामा आगजनी भएको छ।”
प्रधानमन्त्री कार्कीले घटनाक्रमको गम्भीरता औँल्याउँदै भनिन्, “भवनहरू त पुनर्निर्माण गर्न सकिन्छ, तर जलेर नष्ट भएका प्रमाणहरूको क्षति पूर्ति गर्न असम्भव छ। हामी शून्यमा पुगेका छौँ। यस घटनाले स्पष्ट गर्यो कि अत्यन्त आवश्यक संस्थाहरू नै लक्षित भएका छन्। प्रहरीले नियन्त्रण गुमाए, अदालतका फाइलहरू नष्ट भए र सुरक्षा संरचनामा ठूलो चुनौती आएको छ।”
उनले यस घटनालाई ‘पहिलो पटक भएको’ र ‘नेपाली नै गरेर यस्तो नोक्सान पुर्याएको’ विषयमा लाज लागेको अनुभव सुनाइन्। साथै, “जहाँसम्म मलाई देखिन्छ, षड्यन्त्र नै भएको हो कि ? अनुसन्धान गरेर दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्ने अवस्था छ,”- उनले जोड दिइन्।
उनले तत्काल आवश्यक कदमहरूमा पनि जोड दिइन्। “देशभरिका सुरक्षाकर्मीका वाहन खरिद गर्नुपर्ने अवस्था छ। स्थानीय स्रोतसाधन जुटाएर पुनर्निर्माण कार्य तुरुन्तै सुरु गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ। सिंहदरवार र सर्वोच्च अदालत जस्ता संरचनाहरू रेट्रोफिट भए पनि प्रयोग गर्न नपाउँदै जलेका छन्। हामीले चुनौतीलाई आत्मसात् गर्दै एकताको भावना राखेर सबै तर्फबाट पहल गर्नैपर्छ।”
प्रधानमन्त्रीले आन्दोलनका सकारात्मक पक्ष र लोकतान्त्रिक सन्देशलाई पनि स्वीकार गर्दै भनिन्, “जुन आन्दोलन आयो, त्यो बडो अचम्मको छ। २७ घण्टामा कायापलट गरेको विश्वमै दुर्लभ छ। भ्रष्टाचार अन्त्य र सुशासनका लागि आएको भएकाले त्यसलाई पुरा गर्न अठोट गर्नु आवश्यक छ। अब सबै पक्ष मिलेर नेपालको निर्माण गर्नुपर्नेछ।”
उनले हिंसा र आगजनीबाट प्रभावित व्यक्तिहरूको राहत र पुनर्स्थापनामा तत्काल पहल गर्न निर्देशन दिइन्। “आन्दोलनमा घाइते र मृत्यु भएका व्यक्तिहरूको राहतका काममा ढिलाइ गर्नु हुँदैन। आफन्तहरूलाई तत्काल सहयोग पुर्याउनुहोस्। व्यक्तिगत सम्पत्तिमा क्षति भएका साना व्यापारीहरूलाई पनि राज्यले सहयोग गर्नेछ।”
प्रधानमन्त्री कार्कीले यसपालिको हिंसा र क्षतिको व्यापकता औँल्याउँदै सरकारी संरचना र कानुनी प्रक्रियामा दृढता देखाउने वाचा गरिन्। उनले सबै नागरिक, स्थानीय तह, सुरक्षा निकाय र कर्मचारीहरूलाई आह्वान गर्दै भनिन्-“सबै विषम परिस्थितिमा के गर्न सक्छौँ भन्ने सोच राखौँ। सबै लागौँ, मिलेर देशको निर्माण गरौँ। अनुसन्धान, छानबिन र न्याय सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो।”
उनले आफ्नो सम्बोधनमा सुरक्षा, पुनर्निर्माण, न्याय र सहयोगको अपिल प्रमुख रूपमा दोहोर्याउँदै यसपालिको आन्दोलनबाट प्राप्त शिक्षा र चुनौतीहरूलाई सकारात्मक कार्यमा रूपान्तरण गर्न आह्वान गरिन्।







