काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार काँग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै काँग्रेसको मार्गदर्शन हुने धारणा राखे ।
“गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले काँग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उनले भने ।
काँग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी काँग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पुर्याएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।







