काठमाडौँ। चालु आर्थिक वर्ष पहिलो महिना बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेका छन् । निरन्तर घट्दो निक्षेपको ब्याजदरले बैंक/वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसक्दा पनि ९ अर्ब नाफा गरेका हुन् ।
गत आवको निकै दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन भन्दा पनि पुरानो असुली गर्न केन्द्रित भएका थिए । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाको खुद नाफामा केही कमी आएको देखिन्छ ।
त्यसैगरी गत आवसमेत अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्थामा चालु आव सुरुवातीमा त नकारात्मक नै रहेको अवस्था केन्द्रीय बैंकले सार्वजनिक नै गरेको अवस्था छ । कर्जा लगानीमा आएको संकुचनले नाफामा केही कमी आए पनि बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी, गैर बैकिङ सम्पत्ति लगायत सूचकमा भने ठूलो परिवर्तन आएको छैन ।
चालु आव साउनमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ३७ करोड ५० लाख खुद नाफा गरेका छन् । यो नाफा गत आव सोही अवधिको तुलनामा थोरै हो । गत आव पहिलो महिना बैंक तथा वित्तीय संस्थाको कुल नाफा १० अर्ब १६ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव बैंक तथा वित्तीय संस्थाले कुल ३२ वटा मात्रै कर्जा अपलेखन गरेका छन् । गत आव सोही अवधिमा यस्तो तथ्यांक ३ सय ३ हाराहारी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी गत साउनमा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति करिब १ करोडले मात्र थपिएको छ । गत आव सोही अवधिमा गैर बैंकिङ सम्पत्ति करिब डेढ अर्बले बढेको थियो । गत साउनसम्म गैर बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड पुगेको छ ।







