काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल काँग्रेस-एमाले मिलेर सरकार बनाएपछि जेन जेड आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटक पटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिँदाको खराब परिणाम काँग्रेस-एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो ।
उनले मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कूशासनका मतियारहरूले लिनुपर्ने तर्क गरे ।
जेन जेड आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारण भएको चर्चा गर्दै उनले सहायक कारणका रूपमा भू-राजनीति पनि रहेको उल्लेख गरे ।
जेन जेड आन्दोलनको मौका छोपेर अध्यक्ष ‘प्रचण्ड’सहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरूले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए । पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे ।
अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू-राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए ।
फरक प्रसंगमा पुनले जेन जेड आन्दोलनले पार्टीहरूका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरूमा आमूल रूपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औँल्याएका छन् ।







