काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि ती नामहरू राष्ट्रपति समक्ष पठाइएको हो।
सिफारिस भएकामध्ये पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। सिन्हा २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए र उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख पत्रकार जगदीश खरेललाई सिफारिस गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं रोमन म्यासेजे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनलाई दिइनेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय डा. मदन परियारलाई तोकिएको छ। उनी वरिष्ठ जलवायु तथा कृषि विज्ञ तथा संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका संयोजकसमेत रहिसकेका छन्।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी अतिरिक्त सचिव रहिसकेकी डा. संगीता कौशल मिश्रालाई दिने भनिएको छ । यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशकसमेत रही सकेको मिश्रा पछिल्लो समय सचिव बढुवामा नपरेको भन्दै असन्तुष्टि जाहेर गरी लामो समय बिदामा बस्दै आएकी थिइन् ।
राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने छ।
यसअघि अन्तरिम सरकार बनेको तेस्रो तीन जना मन्त्री नियुक्त भएका थिए भने नयाँ पाँच जना मन्त्री नियुक्त भएसँगै ९ जनाको मन्त्रिमण्डल बनेको छ ।







