काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित विशेष अनुगमन कार्यक्रम अन्तर्गत पृथ्वी र अरनिको राजमार्ग आसपासका होटल तथा डेरी उद्योगमा अनुगमन गरेको छ। विभागको काठमाडौँ र नुवाकोट डिभिजन कार्यालयसँगै संयुक्त टोलीले व्यापक अनुगमन तथा निरीक्षण सम्पन्न गरेको हो।
अनुगमनका क्रममा १४ वटा होटल र २ वटा डेरी उद्योग गरी जम्मा १६ वटा व्यवसाय निरीक्षण गरिएको विभागले जनाएको छ। अधिकांश स्थानहरूको सरसफाइ अवस्था सामान्य पाइए पनि केही स्थानमा तत्काल सुधार आवश्यक देखिएकाले सम्बन्धित व्यवसायीलाई लिखित तथा मौखिक निर्देशन दिइएको छ।
टोलीले अनुगमनका क्रममा व्यवसायीलाई वासी, सडेगलेका वा अखाद्य खाद्यपदार्थ बिक्री नगर्न चेतावनी दिएको छ। साथै, अखाद्य रङ तथा रासायनिक पदार्थको प्रयोग नगर्न, फ्रिज तथा कोल्ड स्टोरको नियमित सरसफाइ गर्न र लेबलसहित खाद्यपदार्थ भण्डारण गर्न निर्देशन दिइएको छ।
कामदारहरूको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने र खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डलाई निरन्तर पालना गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनमा जोड दिइएको छ।
विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले चाडपर्वलाई लक्षित गरी देशभर विशेष अनुगमन टोली खटाइएको बताइन्। उनका अनुसार शहरी क्षेत्रमा बढी र निरन्तर चेकजाँच भइरहेका छन्। “एडल्ट्रेसन र अनसेफ फुडको बिक्री–वितरण रोक्नका लागि यसलाई अभियानकै रुपमा अघि बढाइएको छ,” उनले भनिन्।
डा. वैद्यका अनुसार देशैभरका कार्यालयलाई भर्चुअल बैठकमार्फत निर्देशन दिइएको छ।
यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा। गोविन्द प्रसाद शर्मा (कृषि विकास) र डा. दीपक कुमार खराल
(पशुपन्छी विकास)बाट पनि एसएमटी बैठकमार्फत सबै विभाग र संस्थालाई आफ्नो क्षेत्राधिकारभित्र तदारुकताका साथ काम गरेर नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी परिणाम दिन निर्देशन भएको छ ।
विभागले अनुगमनबाट प्राप्त निर्देशन र सुझावलाई पालना गरी खाद्य स्वच्छता र गुणस्तरमा सुधार ल्याउन व्यवसायीलाई आग्रह गरेको छ। यसले यात्रु र उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।







