काठमाडौँ । अब समाचारका लागि धेरै एप डाउनलोड गर्नुपर्ने, टेलिभिजन च्यानल र युट्युब चहार्नुपर्ने बाध्यता अन्त्य हुँदैछ। इन्टरफेस नेपाल नेटवर्कले समाचार पढ्ने, सुन्ने र हेर्ने सुविधासहितको नयाँ मोबाइल एप ‘हातमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
विश्वासिला र भरपर्दा सञ्चार गृह तथा सञ्चारमाध्यमका नेपाली र अङ्ग्रेजी भाषाका समाचार अब एउटै प्लेटफर्ममा सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। मोबाइलमा थरिथरिका एपहरू संकलन गर्नुपर्ने झन्झट हटाउँदै हातमा एपले तीन मिनेटमै समाचार अपडेट दिने दाबी गरेको छ।
व्यस्त समयमा ६० शब्दमा संक्षिप्त समाचार पढ्न सकिने र फुर्सदमा विस्तृत रूपमा समाचार अध्ययन गर्ने सुविधा यसमा रहेको छ। यसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार गृहले उत्पादन गरेका समाचार उपभोक्ताले सीधा आधिकारिक वेभ पेजमै गएर पढ्न, सुन्न र हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
समाचार र सूचनामूलक सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणमा दुई दशक लामो अनुभव बोकेको इन्टरफेस नेपाल नेटवर्कले डब्लुडब्लुडब्लु डट हातमा डट कम र मोबाइल एप दुवै सुरु गरेको हो। यसले भ्रामक र मिथ्या समाचारबाट पाठकलाई जोगाउँदै सत्य, तथ्य र भरपर्दा समाचार तत्कालै उपलब्ध गराउने लक्ष्य लिएको छ। हातमा एपलाई आईओएस र एन्ड्रोइड दुवै भर्सनमा डाउनलोड गर्न सकिन्छ। यो केवल न्युज एग्रिगेटर मात्र नभई न्युज क्युरेटर पनि भएको कम्पनीले जनाएको छ । एआई र मानव बौद्धिक दक्षता दुवैको संयोजनमार्फत संक्षिप्त र विस्तृत दुवै खालका समाचार उपलब्ध हुने कम्पनीले जनाएको छ।
एपमा हालसम्म चार दर्जनभन्दा बढी सञ्चार गृह जोडिइसकेका छन् भने थप संख्यामा मिडिया जोडिने क्रम जारी छ। नेपालकै पुरानो सरकारी सञ्चार गृह गोरखापत्र संस्थानका प्रकाशनदेखि नयाँ डिजिटल मिडियासम्मका समाचार एकै प्लेटफर्ममा पढ्न सकिन्छ। तथ्यरहित समाचारले भ्रम सिर्जना गरिरहेको बेला हातमा एपले केवल आधिकारिक र तथ्यसहितका समाचार उपलब्ध गराउने र सकारात्मक तथा आशा जगाउने समाचारलाई पनि प्राथमिकता दिने बताइएको छ।
साथै, आपत्कालीन अवस्थामा आवश्यक पर्ने नि:शुल्क टेलिफोन नम्बरहरू पनि यसमा राखिएका छन्, जसले समस्यामा परेका बेला उपभोक्तालाई सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
समग्रमा, हातमा एप छिनछिनमै अपडेट हुने समाचार प्लेटफर्म हो, जसले समाचारको भोक मेटाउने, सत्य–तथ्य खोज्ने तिर्खा शान्त पार्ने र समाचारकै लागि अनेक एप खोल्ने झन्झट हटाउने दाबी गरेको छ।







