काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे स्पष्ट पारेका छन् ।
हाल सामाजिक सञ्जालमा आफ्नो खर्चबारे उठेका प्रश्नप्रति प्रतिक्रिया जनाउँदै उनले आवश्यक परेमा साथी–सहयोगीहरूले नै सबै खर्च व्यहोर्दै आएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “अहिलेसम्म मलाई र श्रीमती पाल्ने, छोरीहरूलाई पाल्ने, पढाइ दिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन् । मन्त्री भए पनि सबै खर्च पहिले देखि नै केही शुभचिन्तक साथीहरूले पूरा गरिदिन्छन् । मलाई ढुक्क छ ।”
सोही कारण आफूले मन्त्री पदमा रहँदा पनि तलब–भत्ता नलिएको पुनले स्पष्ट पारेका छन् ।
साथै, उनले ३२ वर्षअघि नै अमेरिकाबाट फर्किएको स्मरण गर्दै, त्यसयता ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गर्न सफल भएको दाबी गरेका छन् ।








