शिक्षामा गुणस्तर सुधार अहिलेको प्रमुख आवश्यकता हो। विद्यालय शिक्षालाई समयानुकूल, प्रभावकारी र सहभागितामूलक बनाउन सम्पूर्ण गुणस्तर व्यवस्थापन (टोटल क्वालिटी म्यानेजमेन्ट-टीक्यूएम) उपयोगी उपायका रूपमा अघि आएको छ। टीक्यूएम ले केवल परिणाममा मात्र होइन, प्रक्रियामा पनि ध्यान दिँदै निरन्तर सुधारको संस्कृति विकास गर्न मद्दत गर्छ।
सम्पूर्ण गुणस्तर व्यवस्थापन (टोटल क्वालिटी म्यानेजमेन्ट-टीक्यूएम)
सम्पूर्ण गुणस्तर व्यवस्थापन (टोटल क्वालिटी म्यानेजमेन्ट-टीक्यूएम) ग्राहकको सन्तुष्टिको माध्यमबाट दीर्घकालीन सफलता प्राप्तिको उपागम हो। हामीलाई थाहा छ सत्य परिवर्तनशील हुन्छ। गुणस्तरको कुरा गर्ने हो भने पनि समय र नवप्रवर्तनहरू सँगै गुणस्तरको परिभाषा परिवर्तित हुन्छ। अर्थात् गुणस्तरको परिभाषा निरपेक्ष नभई सापेक्ष हुन्छ। अन्य समान प्रकारका वस्तु तथा सेवासँग तुलना गरेर हेर्दा पाइने स्तर नै त्यस वस्तु वा सेवाको गुणस्तर हो। अर्थात् गुणस्तरले उत्कृष्टताको विन्दुलाई बुझाउँछ। सम्पूर्ण गुणस्तर व्यवस्थापनको उपागमले निरन्तर कमजोरीहरूको पहिचान र न्यूनिकरणका माध्यमबाट एउटा सङ्गठनको गुणस्तर सुनिश्चित गर्दछ।
गठनलाई ग्राहकको माग अनुसार गुणस्तर कायम राख्नु, कर्मचारीहरूलाई समयसापेक्ष तालिम दिएर अद्यावधिक राख्नु र सिद्धान्तको पालना गर्नु चुनौतिपूर्ण हुन्छ। सम्पूर्ण गुणस्तर व्यवस्थापन खास गरेर सन् १९४० देखि १९५० को दशकमा अमेरिका र जापान जस्ता देशहरूमा औद्योगिक क्षेत्रको गुणस्तर कायम राख्ने उद्देश्यले आएको थियो। डब्ल्यू. एडवर्ड्स डेमिङ, जोसेफ जुरान र फिलिप क्रोस्बी जस्ता विद्वानहरूले औद्योगिक गुणस्तर नियन्त्रण र सुधारको लागि यसको आधार लिएका थिए। जापानी कम्पनीहरूले (विशेष गरी टोयोटा जस्ता साझा कम्पनीहरूले) यसलाई अपनाएर औद्योगिक गुणस्तरमा ठूलो सुधार गरेका थिए।
समय बित्दै जाँदा, टीक्यूएम का सिद्धान्तहरू सेवा क्षेत्र, स्वास्थ्य सेवा, शिक्षा र सरकारी संस्था जस्ता गैर-औद्योगिक क्षेत्रमा समेत व्यापक प्रयोगमा ल्याइएका छन्।
सुधारका लागि काइजेन चक्र (केइजेन साइक्ल)
काइजेन जापानी शब्द हो जसको अर्थ राम्रोका लागि परिवर्तन वा निरन्तर सुधार भन्ने हुन्छ। यसलाई पीडीसिए (प्लान-डु-चेक-एक्ट) चक्र भनेर प्रायः बुझिन्छ।
१. समस्याको पहिचान गर्नु र समाधानका लागि योजना बनाउनु
२. कार्यान्वयन गर्नु वा प्रयोगमा ल्याउनु
३. जाँच गर्नु वा मूल्याङ्कन गर्नु
४. कार्यव्यवहारमा उतार्नु र यसलाई निरन्तर सुधारका लागि प्रयोग गर्नु
यसरी साना-साना परिमाणमा समस्याहरूको पहिचान गर्ने, योजना बनाउने, समस्या समाधानका उपायहरूको कार्यान्वयन गर्ने, तिनीहरूको प्रभावकारिताको जाँच गर्ने र कार्यव्यवहारमा उतार्ने काम निरन्तर दोहोर्याएर सङ्गठनको सम्पूर्ण गुणस्तर व्यवस्थापन गर्न सकिन्छ।
सम्पूर्ण गुणस्तर व्यवस्थापनका सिद्धान्तहरू
सम्पूर्ण गुणस्तर व्यवस्थापन नेत्रित्व, इमानदारी, सत्यनिष्ठा, उच्च नैतिकता, उपभोक्ता सन्तुष्टि, दूरदृष्टि, समस्या समाधान, योजना र निरन्तर सुधार जस्ता व्यवहारकुशल अवधारणामा आधारित छ। यसका प्रमुख सिद्धान्तहरू:
१) ग्राहक प्रति समर्पण
२) कर्मचारीद्वारा सुधारप्रति प्रतिबद्धता
३) निरन्तर सुधार र सिकाइ
४) विधि/प्रकृयाको पालना
५) रणनीतिक र पद्धतिगत उपागम
६) तथ्य र तथ्याङ्कको प्रयोग
७) एकीकृत प्रणाली
८) प्रभावकारी सञ्चार
शिक्षामा सम्पूर्ण गुणस्तर व्यवस्थापन
यद्यपि सम्पूर्ण गुणस्तर व्यवस्थापनको सिद्धान्त औद्योगिक क्षेत्र सुधारका लागि विकसित भएको थियो, यसको प्रयोग निश्चित तहसम्म कुनै पनि गैर-औद्योगिक सङ्गठनमा गर्न सकिन्छ। यसले सङ्गठनको उद्देश्य उत्पादन र सेवाको उच्च गुणस्तरतर्फ केन्द्रित गराउँछ।
विद्यालय शिक्षामा यसको प्रयोगले विद्यार्थीको उत्तीर्ण प्रतिशत र सिकाइ उपलब्धिलाई मात्र नभई शैक्षिक प्रक्रियाको संगठन, व्यवस्थापन, अन्तरव्यक्तिगत सम्बन्ध, स्रोत साधन र मानव संसाधनमा समेत प्रभाव पार्दछ। यसलाई सफल बनाउन व्यवस्थापकको मनोवृत्ति, शैक्षिक प्रक्रियाको संगठन र अनुगमन, नतिजाको मूल्याङ्कन, सञ्चार संस्कृतिको विकास, विद्यालयको वातावरण र विशेष गरी अन्तरव्यक्तिगत सम्बन्धमा धेरै परिवर्तन आवश्यक हुन्छ।
डब्ल्यू. एडवर्ड्स डेमिङले (सन् १९५०) एउटा सङ्गठनको प्रभावकारिता र गुणस्तर सुनिश्चितताका लागि १४ बुँदे आधारभूत सिद्धान्त उल्लेख गरेका छन्। तिनै सिद्धान्तलाई विद्यालय शिक्षामा पनि लागू गर्न सकिन्छ।
डेमिङका आधारभूत सिद्धान्तहरूको विद्यालय शिक्षामा प्रयोग
१. उद्देश्यप्रति अडिग रहनुहोस् (क्रिएट कन्स्ट्यान्सी अफ पर्पोज)
२. नवीनतम दर्शन एवं सिद्धान्तहरू अपनाउनुहोस् (एडप्ट द न्युफिलसफी)
३. गुणस्तरका लागि केवल मूल्याङ्कनमा भर नपर्नुहोस् (सिस डिपेन्डेन्स अन इन्स्पेक्सन)
४. मूल्यलाई मात्र आधार नबनाउनुहोस् (एन्ड द प्राक्टिस अफ अवार्डिङ बिजनेस अन द बेसिस अफ प्राइस ट्याग)
५. निरन्तर सुधारमा ध्यान दिनुहोस् (इम्प्रुभ कन्स्ट्यान्ट्ली एण्ड फरेभर)
६. कार्यस्थलमै तालिम दिनुहोस् (इन्स्टिच्युट ट्रेनिङ अन द जब)
७. नेतृत्व संस्थागत गर्नुहोस् (इन्स्टिच्युट लिडरसिप)
८. भयमुक्त वातावरण तयार गर्नुहोस् (ड्राइभ आउट फियर)
९. अन्तर-तह र अन्तर-विषय सहकार्य बढाउनुहोस् (ब्रेक डाउन बेरियर्स बिट्विन डिपार्टमेन्ट्स)
१०. अनावश्यक नारा/टार्गेट नथोपर्नुहोस् (इलिमिनेट स्लोगन्स एण्ड टार्गेट्स)
११. संख्यात्मक कोटा हटाउनुहोस् (इलिमिनेट न्यूमेरिकल क्वोटाज)
१२. काममा गर्व गर्न नदिने अवरोध हटाउनुहोस् (रिमुभ बेरियर्स टु प्राइड अफ वर्कम्यानसिप)
१३. अध्ययनशील बन्न र स्व-सुधारलाई प्रोत्साहन दिनुहोस् (इन्स्टिच्युट अ भिगरस प्रोग्राम अफ एजुकेशन एण्ड सेल्फ-इम्प्रुभमेन्ट)
१४. विद्यालयका सबैलाई रुपान्तरणमा सहभागी गराउनुहोस् (पुट एभ्रिबडी इन द स्कूल टु वर्क)
निष्कर्ष
सम्पूर्ण गुणस्तर व्यवस्थापन (टीक्यूएम) को सिद्धान्त विद्यालयहरूमा पूर्ण रूपमा लागू गर्न सकिन्छ। यसको कार्यान्वयनका लागि विद्यालयले दीर्घकालीन लक्ष्य निर्धारण, निरन्तर सुधार, र सहभागितामा आधारित पद्धतिगत पुनःसंरचना लागू गर्नुपर्छ। शिक्षक, विद्यार्थी, अभिभावक र प्रशासनिक निकायहरूको सहकार्य र समन्वय नै टीक्यूएम को केन्द्रीय आधार हो।
पीडीसिए चक्र (योजना, कार्यान्वयन, मूल्याङ्कन, सुधार) अपनाएर शैक्षिक प्रक्रियालाई निरन्तर मूल्याङ्कन र सुधार गर्न सकिन्छ। यसरी, टीक्यूएम ले विद्यालयलाई गुणस्तरमा आधारित सिकाइ संस्थाको रूपमा विकास गर्न मार्ग प्रशस्त गर्दछ।







