काठमाडौँ । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।
घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
अरू ६ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूको परिचय खुलेको छैन ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार दुर्घटनाको कारण पनि खुल्न सकेको छैन । तीव्र गति अर्थात् स्टेरिङमा समस्या भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।







