काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, पुनर्स्थापना एवं उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाले पुर्याउन सक्ने सम्भावित क्षतिप्रति चनाखो रहन, सुरक्षित रहन र आवश्यक सुरक्षाका उपायहरू अपनाउन जनसमुदायलाई अपिल गर्दै उद्धार, पुनर्स्थापना र उपचारका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्।
वर्षातबाट भएको जनधनको क्षतिप्रति लिङ्देनले गहिरो दुःख प्रकट गरेका छन्।
प्राकृतिक विपद्को यस घडीमा सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता अपेक्षित रहेको उनले उल्लेख गरेका छन्।
‘विपद्को यस कठिन समयमा आफू सुरक्षित रहनुका साथै प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार कार्यमा आ-आफ्नो ठाउँमा सक्रिय रूपमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।







