काठमाडौँ । चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटेल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ ।
सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटेलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटेलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उनले बताए ।
निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटेल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
होटेल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताए । उनले बाध्यता हेरेर कतिपयलाई नि:शुल्क बस्ने व्यवस्थासमेत गरिने बताए ।
क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटेलमा अलपत्र परेका ४० जनालाई दैनिक नि:शुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए।
चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँसी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटेलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।







