काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम उच्च भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका सरकार, निकाय र नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
रास्वपाले शुक्रवार विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागले कोशी, महाकाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा थप वर्षा हुने सम्भावना औँल्याएको भन्दै सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार सावधानी अपनाउन, नदी तथा खोलानजिकका क्षेत्रका बासिन्दाले सुरक्षित स्थानतर्फ सर्ने र राहतका सामग्री तयारी अवस्थामा राख्न आग्रह गर्दछौँ।”
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले हस्ताक्षरित विज्ञप्तिमा मानवीय सेवा र उद्धारका कार्यमा संलग्न सम्पूर्णलाई आत्म सुरक्षा र संयमका साथ सहयोगमा जुट्न अनुरोध गरिएको छ। पार्टीले केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहका सबै समिति, विभाग र सदस्यहरूलाई ‘र्यापिड एक्सन टिम’ सहित सक्रिय रहन निर्देशन दिएको छ।
रास्वपाले सबैलाई स्वयं सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न र आवश्यक सहयोगमा जुट्न आह्वान गरेको छ।







