चरिकोट, दोलखा । हालैको वर्षासँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमका बीच दोलखामा सार्वजनिक यातायात व्यवस्थापनमा प्रशासन सक्रिय देखिएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल स्वयं अग्रपङ्क्तिमा रहेर समन्वयमा जुटेका छन्।
मुसलधारे वर्षाको बीचमा छाता ओढी सुरक्षाकर्मीहरूसँगै फिल्डमा खटिएका दाहालले सवारी व्यवस्थापनमा प्रत्यक्ष नेतृत्व गरेका छन्। उनका अनुसार सिन्धुली र रामेछाप हुँदै काठमाडौँ हिँडेका सयौँ सवारी साधन र यात्रुहरूलाई चरिकोटमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
दाहालले यस कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, भीमेश्वर नगरपालिका, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी, होटेल व्यवसायी, नेपाल स्काउट, स्थानीय सञ्चारकर्मी, युवा र दोलखावासीहरूलाई हार्दिक धन्यवाद दिएका छन्।
विपद् व्यवस्थापनमा समन्वय नै सर्वोपरि रहन्छ । संघीय सरकारको प्रतिनिधिका रूपमा रही समग्र शान्ति–सुरक्षा र प्रशासनिक प्रमुखको भूमिकामा रहने प्रमुख जिल्ला अधिकारीको सक्रियताले स्थानीय तहमा सरकारको उपस्थितिको अनुभूति गराउँछ । दोलखा प्रशासनको यो सक्रियता संघीयदेखि स्थानीय तहसम्मका संयन्त्रबीच प्रभावकारी समन्वय र जिम्मेवारी बोधको उदाहरण बनेको देखिन्छ।







