काठमाडौँ । अविरल वर्षाका कारण गृह मन्त्रालयले आइतबार र सोमबार दुई दिने सार्वजनिक बिदा घोषणा गरेको बीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने सोमबार बिहान १० बजेपछि कार्यालयहरू खुला रहने जानकारी दिँदै राति १० बजे सूचना जारी गरेको छ।
“मौसममा सुधार भई जोखिमको अवस्था टरी सकेको हुँदा मिति २०८२र०६र२० गते सोमबारका दिन बिहान १० बजेबाट कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरूमा सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न अनुरोध गरिन्छ” जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
प्रशासनले ‘आवश्यक सेवा प्रवाह र कर्मचारी उपस्थितिको व्यवस्था मिलाउन’ पनि भनेको छ।
सरकारले अविरल वर्षा, बाढी र पहिरोका कारण उद्धार तथा राहतमा सहजता ल्याउन असोज १९ र २० गते बिदा दिएको थियो। तर, काठमाडौँ प्रशासनले राति १० बजे सूचना जारी गर्दै सोमबार नै कार्यालय सञ्चालन गर्ने भनाइसँगै विरोधाभास उत्पन्न भएको र यसले कर्मचारीहरूमा अन्यौलता बढाएको कर्मचारीहरूले बताएका छन् ।
एक कर्मचारीले भने, “उपत्यका बाहिर रहेका कर्मचारीहरूका लागि राति १० बजे आएको सूचना अनुसार भोली बिहान कार्यालयमा हाजिर हुनु व्यवहारिक रूपमा कसरी सम्भव हुन्छ ?”
त्यसै गरी माथिल्ला निकाय गृह मन्त्रालयले दुई दिने बिदा भनिसकेको अवस्थामा मातहतको कार्यालय जिल्ला प्रशासनबाट बिदा रद्द हुने गरी सूचना जारी भएसँगै कसको भनेको मान्ने भन्नेमा दोधार भएको अर्का कर्मचारीको भनाई छ ।
शनिबार (हिजो) मात्रै विभिन्न सरकारी निकायबाट जारी सूचनाले कर्मचारी र नागरिकहरूमा अन्यौलता सिर्जना गरेको भन्दै आलोचना भइरहेकाबेला, आज काठमाडौँ प्रशासनको यो पछिल्लो निर्णयले पनि त्यही बहसलाई पुनः तताउने देखिन्छ ।








