झापा । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले आइतबार दिनभर उद्धार र राहत कार्य तीव्र रूपमा सञ्चालन गरेको छ ।
सेनाका अनुसार मोरङ, सुनसरी, इलाम र झापा जिल्लामा विभिन्न माध्यममार्फत उद्धार कार्य जारी रहेको छ । सेनाका टोलीहरू तटबन्ध (बाँध) निर्माण, जोखिमयुक्त बस्ती खाली गराउने र फसेकाहरूको उद्धार कार्यमा संलग्न छन् ।

विशेष गरी झापा गाउँपालिका–१ मिलन बस्ती क्षेत्रमा आज दिनभर उद्धार कार्य चलेको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत १६ जना महिलाहरू (जसमध्ये गर्भवती महिला र साना बच्चाहरू पनि रहेका) लाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ । त्यस्तै, बोटमार्फत ३० जना थप व्यक्तिहरूको उद्धार गरिएको छ । सेनाका अनुसार उद्धार कार्य अझै पनि बोटमार्फत निरन्तर भइरहेका छन् ।
यस्तै, झापा गाउँपालिका–६ बाट ६ जनाको सफल उद्धार गरिएको छ । सेनाका अनुसार उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

कोशी प्रदेशका प्रभावित जिल्लाहरूमा सेनाका टोलीहरूले उद्धारका साथै बाँध मर्मत, सडक र मार्ग खुलाउने कार्य पनि एकैसाथ अघि बढाइरहेका छन् । निरन्तर वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले नागरिकलाई आग्रह गरेको छ ।








