काठमाडौँ । रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रूपमा उडान सुरु गरेका हुन्।
केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौँ उडान हुन सकेको थिएन। यही असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो।
मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौँसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोलालघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ।
अबदेखि प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिवार तारा एयरले नियमित रूपमा रामेछाप-काठमाडौँ-रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ।







