काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाएका छन् ।
एमालेको पोखरा महानगर कमिटीले गरेको कार्यकर्ता भेलाका प्रमुख वक्ता अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको बताएका हुन् ।
जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकार सत्ताच्युत भएपछि पहिलो पटक पोखरामा कार्यकर्ता भेला भएको छ ।
अधिकारी प्रमुख वक्ता रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसरसमेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिष्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
नेता(कार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारी बोलेका हुन् । ओलीका कारण नभई देशमा उत्तर–दक्षिण (चीन र भारत)ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो ।
पूर्व गृहमन्त्रीसमेत भएका कारण आफूलाई सूचना आउने बताएका नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।
‘यो पार्टी जोगाउने तपाईँ पङ्क्तिलाई मैले भन्नैपर्छ, यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो ।







