काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलामा बिहीबारका दिन प्रस्तावित प्रदर्शन र त्यससँग सम्बन्धित सम्भावित जोखिमबारे अत्यन्त जरुरी सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार एनटेक–जेड नामक समूहले मिति २०८२ असोज २३ गते बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भन्दै निवेदन दिएको थियो। तर उक्त निवेदन विचाराधीन अवस्थामा रहँदै समूहले कार्यक्रम स्थगित गरिएको र नगर्ने निर्णय गरेको सूचना पत्र जारी गरेको जनाइएको छ।
त्यसैगरी, सो समूहसँग मिलेर वा सोही स्थानमा कार्यक्रम गर्ने भन्दै अन्य समूहबाट प्राप्त निवेदन पनि स्वतः निष्क्रिय भएको प्रशासनले स्पष्ट गरेको छ।
यससँगै जिल्ला प्रशासनले अनौपचारिक समूहहरूबाट हुने प्रदर्शन, जुलुस, धर्ना वा र्यालीहरूमा अवाञ्छित तत्त्वहरूको घुसपैठ, हुलदङ्गा, सरकारी सम्पत्तिको तोडफोड जस्ता गतिविधि हुन सक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ -“गत भदौ २३ र २४ गतेको जेनेरेसन जेड आन्दोलन र त्यसपछिका घटनामा अराजक तत्त्वहरूको घुसपैठ, आगजनी र तोडफोडका घटनाहरू पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले सबै पक्षले अत्यन्त संयमता र सतर्कता अपनाउनुपर्छ।”
प्रशासनले प्रदर्शनकारी, राजनीतिक दल, अभियन्ता, नागरिक समाज सबैलाई शान्ति सुरक्षा कायम राख्न र कानुनी शासनको प्रत्याभूति गर्न सहयोग गर्न आह्वान गरेको छ।
कानुन विपरीतका गतिविधि वा त्यसको तयारीबारे जानकारी भएमा नागरिकहरूलाई नजिकको सुरक्षा निकाय वा प्रहरी हटलाइन नम्बर १०० तथा मोबाइल नम्बर ९८५१२८३०२६ र ९८५१२८३८३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
“कानुन विपरीतका कार्यमा संलग्न व्यक्ति वा समूहमाथि प्रचलित कानुन बमोजिम कारबाही हुनेछ”-प्रशासनले चेतावनी दिँदै भनेको छ ।








