काठमाडौं । सहुलियतपूर्ण कर्जा अब बैंक तथा वित्तीय संस्थाहरूको प्रचलित कर्जा प्रणालीमै समाहित हुने भएको छ। यो योजना अन्तर्गत दिइने कर्जा धितोमा आधारित सहुलियतपूर्ण कर्जा हो।
यस कर्जाका लागि आवेदन मागदेखि सिफारिस गर्ने काम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ। सिफारिसमा परेका उद्यमीहरूलाई भने कार्यविधिअनुसार छनोट भएका वाणिज्य बैंकहरूले कर्जा वितरण गर्ने व्यवस्था गरिएको छ। त्यसैले, यो कर्जा प्रणाली परम्परागत कर्जाभन्दा केही भिन्न रहेको बताइन्छ।
नवीनतम कार्यविधिमा मूल्यांकनका मापदण्डहरूलाई थप वस्तुगत, व्यवहारिक र प्रविधिमैत्री बनाइएको छ। विशेष गरी नवीन सोच र प्रविधि अवलम्बन गर्ने उद्यमीहरूलाई प्राथमिकता दिने प्रावधान राखिएको छ।
कार्यविधिले ‘धितोविहीन कर्जा’ को अवधारणालाई व्यवहारिक रूपमा अंगालेको छ। कर्जा प्रवाहदेखि असुलीसम्मको सम्पूर्ण प्रक्रिया प्रतिष्ठान र बैंकको संयुक्त समन्वयमा सञ्चालन गरिनेछ।
यस्तै, मूल्यांकन प्रक्रिया उद्यमीमैत्री हुनेगरी प्रदेश तहमा गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि जस्तै जिल्ला स्थित वाणिज्य बैंकमा पुग्नुपर्ने बाध्यता हटाई अब सम्बन्धित स्थानीय तहमै रहेका बैंकहरूले कर्जा वितरण र मूल्यांकन प्रक्रिया पूरा गर्न सक्ने प्रावधान गरिएको छ।







