काठमाडौँ । ‘जेनजी’ आन्दोलनमा ‘डिजिटल प्लेटफर्म’मार्फत भइरहेका गलत र मिथ्या सूचना प्रवाहबारे सबै सचेत हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।
काठमाडौँमा आयोजित ‘भ्रामक र मिथ्या सूचनाको चुनौती : लोकतन्त्र, नागरिक अधिकार र युवा समुदायमा पार्ने प्रभाव, जोखिम र यसका असर’ विषयक छलफलमा सरोकार भएकाहरूले सूचना प्रवाहलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलमा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउँदा धेरै भयावहको स्थिति उत्पन्न भएको बताए । राष्ट्रिय सभा सदस्य गंगा बेलबासेले समयमै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक नल्याउँदा प्रदर्शनका क्रममा भ्रम फैलाउन सहयोगी अवस्था बनेको धारणा राखिन् ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मिथ्या सूचनालाई बढवा दिने गतिविधिलाई समयमै नियमन गर्न आवश्यक रहेको धारणा राखे । डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले सूचनाको गलत बुझाइ र दुरुपयोगले सानो घटनाले पनि ठुलो रूप लिइरहेको बताए । संकटका बेला सूचनाको दुरुपयोग गर्ने समूह बढ्ने भएकाले सूचनाको सही र पारदर्शी सम्प्रेषण गरिनुपर्नेमा उनको जोड थियो ।







