सिरहा । प्रहरीले विभिन्न स्थानबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोल बजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोल बजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोल बजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोल बजार नगरपालिका-६, दुर्गा मन्दिरस्थित मेन चोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो ।
बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उनले जानकारी दिए । यस अभियोगमा गोल बजार नगरपालिका-७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका-७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका-१७, पटेर्वा गाउँ नजिकै नेपाल-भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताए ।







