पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरूको संख्या दशैंपछि उल्लेखनीय रूपमा बढेको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार दशैंपछि दैनिक रूपमा १३० देखि १६० जना सेवाग्राही नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि कार्यालय आउने गरेका छन्। उनका अनुसार जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण बिहानैदेखि कार्यालयमा आइपुगेर लाइन बस्ने गर्छन्।
“सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बस्छन्। हामीले पनि कार्यालयका कर्मचारीहरूलाई सक्रिय बनाई एउटै दिनमै काम सकेर सेवाग्राहीलाई घर फर्काउने व्यवस्था गरेका छौँ,” सुवेदीले बताए।
उनका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद पनि कार्यालयले सेवा प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको छ। “हाम्रो लक्ष्य हो- कुनै पनि सेवाग्राहीले नागरिकताको कामका लागि दोस्रो दिनसम्म धाउन नपरोस्,” उनले थपे।
दशैंपछिको समय परदेश जाने तयारी गर्नेहरूको संख्या बढ्ने भएकाले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि समेत सेवाग्राहीको चाप उच्च रहेको सुवेदीले बताए। यसैबीच, सेवाग्राहीहरूले प्रशासन कार्यालयको सेवा र व्यवस्थापनप्रति सन्तोष व्यक्त गरेका छन्।







