काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ ।
करिब चार करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रालिसँग सोमबार सम्झौता गरेको छ ।
सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ ।
निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिने छ।
सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।







