काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमिकता दिँदै आएको पनि बताए ।
मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताएका छन् ।
‘नेपाली काँग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुपर्यो, यो देशका जनताका बारेमा सोच्नुपर्यो,’ भण्डारीले भने, ‘त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुपर्यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रीय समितिको बैठक सुरु गर्छौँ । बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौँ ।’
पार्टी सभापति शेरबहादुर देउवाले नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि उनको भनाइ थियो ।
‘अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको बिचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ,’ उनले भने, ‘नेपाली काँग्रेस अरू पार्टी जस्तो होइन नि स्वयं सभापतिज्यूले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’







