काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अनुपस्थित भएका छन् ।
महामन्त्री डा. धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए । राणा पक्षका नेताहरू कार्यसम्पादन समितिमा उपस्थित भएनन्।
बैठकमा वरिष्ठ उपाध्यक्ष मिश्र पक्षका नेताहरू पनि सहभागी भएनन् । ५२ सदस्यीय कार्यसम्पादनमा मिश्र पक्षका सात जना छन् ।
पार्टी अध्यक्षको शैलीप्रति लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले बैठक सकिए लगत्तै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् । प्रजातन्त्र/लोकतन्त्रमा पार्टी नबनी देश बन्दैन नबन्ने उल्लेख गर्दै मिश्रले पार्टी बनिदेओस् भन्ने एक मात्र कामना गरेको बताएका छन्।
‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठुलो चिन्ताको विषय हो,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
राप्रपाका नेताहरूको दाबी अनुसार कार्यसम्पादन समितिमा बहुमत सदस्य अनुपस्थित थिए । राप्रपाका एक नेताले भने,‘मुख्य सचिव र स्थायी आमन्त्रित समेत गरेर २२ जना बैठकमा सहभागी थिए । बहुमत सदस्यले बैठक बहिष्कार गरे ।’







