काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्घाटन भएको प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूलाई गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल एवम् नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्चर पाण्डेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जीवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरी कल्याण कोषको कुल १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रुपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।







