म्याग्दी । रघुगंगा गाउँपालिका-३ राहु घाटदेखि पालिकाको केन्द्र मौवा फाँट जोड्ने छोटो दुरीको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहु घाट देखि गाउँपालिकाको केन्द्र मौवा फाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहु घाट–मौवा फाँट सडक मर्मत र स्तरोन्नति गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताउनुभयो । “झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन”, उनले भने, “तीन दशमलव पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।”
हाल प्रयोग भइरहेको घुमाउनेताल–पिप्ले–मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरीको छ । करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ । यो सडकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा रु ४० लाखको लागतमा राहु घाटदेखि दशमुरे मौवा फाँट जोड्ने यो सडकमा मर्मत गरेको हो । श्रमजीवी निर्माण सेवाले ठेक्का लिएको यो सडक मार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ ।







