मनाङ । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–४ काङला फेदीमा एक जनाको लेक लागी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङ स्रोतका अनुसार लमजुङको कोलोसोथर गाउँपालिका–४ निवासी ४८ वर्षीय डिलबहादुर गुरुङ काङला फेदीमा पर्यटकको भारी बोकी फर्कने क्रममा अचानक बिरामी परेका थिए। उनलाई बोल्न नसक्ने र अवस्था गम्भीर भएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोली पठाइएको थियो।
एयर डायनाष्टिकको हेलिकप्टरमार्फत उद्धार गरी उनलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
तर, थप प्राप्त विवरण अनुसार डिलबहादुर गुरुङका भाई केशबहादुर गुरुङले बिहान ६:०० बजे घटनास्थलमै लेक लागी मृत्यु भएको जानकारी दिएको र अस्पतालले १०:५६ बजे जाहेरवालाको भनाइलाई सदर गरी चिकित्सकद्वारा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालयमा मनाङमा आएको ती प्रहरी अधिकारीले जनाएका छन् ।







