काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओरआइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विवरण मागिएको पुष्टि गरेका छन् ।
जेनजी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघ-संस्थामाथि कतिपयले प्रश्न उठाएका छन् । त्यही पृष्ठभूमिमा आयोगले समाज कल्याण परिषद्बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।
कुनै निश्चित संस्था वा ठाउँ नभएर समग्र देशभरका संघ-संस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताएका छन् ।







