काठमाडौँ । सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने भनेपछि वार्ता निष्कर्षविहीन भएको हो ।
वार्तामा माग सम्बोधन नभएपछि नर्स र प्यारामेडिक्सले माग पूरा गर्ने सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।
रुपन्देहीका अन्य निजी अस्पतालमा आन्दोलन स्थगित भए पनि यो अस्पतालमा दश दिनदेखि आन्दोलन जारी छ ।
नर्सहरूले हातमा कालोपट्टी बाँधेर ‘श्रम शोषण बन्द गर’, ‘महँगो अस्पताल सस्तो नर्स’,‘नर्सको सम्मान र अधिकार खै’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गर्दै आन्दोलन जारी राखेका छन् ।
सरकारले एक वर्ष अघि निर्धारण गरेको र हालै मात्र अनिवार्य लागू गर्न निर्देशन दिए पनि अस्पतालले कार्यान्वयन नगरेको भन्दै कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । यो अस्पतालमा २ सय बढी नर्स र प्यारामेडिक्स आन्दोलनमा छन् ।
नर्सहरूको आन्दोलनका कारण नयाँ बिरामी भर्ना रोकिएको छ । इमर्जेन्सी, मिर्गौलाको डायलासिस र कात्तिक २ गते अघि भर्ना भएका बिरामीको उपचार बाहेकका काम नर्स र प्यारामेडिक्सले रोकेका छन् । यसले उपचार सेवा प्रभावित भएको छ ।
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा-सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रुपैयाँ र वरिष्ठ पाचौं तहको ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ ।







