मनाङ । हिमाली जिल्ला मनाङमा हिजोदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। लगातारको हिमपातले यातायात अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज पौड्यालको नेतृत्वमा सुरक्षाकर्मीको टोली फिल्डमा खटिएको छ।
अपर मनाङ क्षेत्रमा बाटो अवरुद्ध भएपछि पर्यटक र स्थानीयवासी दुवैको आवागमन रोकिएको छ। यससँगै जनजीवन सामान्य बनाउन प्रजिअ पौड्याल स्वयं सुरक्षाकर्मीहरूसहित बाटो खुलाउने कार्यमा खटिएका छन् । उद्धार टोलीले चिसो र हिमपातका कारण अफ्ठेरोमा परेका तथा लेक लागेका पर्यटकहरूको उद्धार गर्दै थप उपचारका लागि चामे अस्पतालतर्फ पठाउने कार्य अघि बढाई रहेका छन् ।
केही समय अघि मात्रै एक जना लेक लागेका पर्यटकलाई उद्धार गरिएको थियो ।
मनाङ प्रशासनका अनुसार, हिमपातका कारण सडक, पदमार्ग र सम्पर्क मार्गहरू सबै प्रभावित छन्। पर्यटकहरू हिउँमा रमाइरहेका भए पनि अत्यधिक चिसोका कारण स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ।
जिल्ला प्रशासनले स्थानीयवासी, यात्रु र पर्यटकहरूलाई सजग रहन, अनावश्यक यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरेको छ। प्रशासन, प्रहरी र नेपाली सेनाको संयुक्त टोली अहिले पनि विभिन्न स्थानमा उद्धार र बाटो खुलाउने कार्यमा जुटिरहेको छ।

मनाङको अपर क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य हो, जहाँ प्रत्येक वर्ष सयौँ आन्तरिक तथा विदेशी पर्यटक हिउँदको सौन्दर्य अवलोकन गर्न पुग्ने गर्छन्। तर पछिल्ला दिनमा परेको अत्यधिक हिमपातले सुन्दरता सँगै चुनौती पनि थपिएको स्थानीय प्रशासनले जनाएको छ।








