काठमाडौँ। हुम्लामा सडक सञ्जाल जोडिएको सात वर्षको अवधिमा ७३ वटा सवारी साधन दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
हुम्लामा सडक सञ्जाल जोडिएको पहिलो आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म यो क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष ०७६/७७ मा २ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ७ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएको तथ्यांक छ ।
यस्तै गरी आर्थिक वर्ष ०७८/७९ मा भएको एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष ०७९/०८० मा ११ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ६ जना अझै बेपत्ता छन् ।
आर्थिक वर्ष ०८०/८१ मा १७ वटा सवारी दुर्घटना भएका छन् । जसमा चार जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
आर्थिक वर्ष ०८१/०८२ मा ३१ वटा सवारी दुर्घटना भए । जसमा ११ जनाको मृत्यु हुँदा ४२ जना घाइते भएका छन् ।
यस्तै गरी०८२/०८३ को असोज महिनासम्म ९ वटा सवारी दुर्घटना भएका हुँदा ५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले आर्थिक वर्ष ०८१/८२ मा हुम्ला जिल्ला भरी ट्राफिक नियम उलंघन गर्ने ५६२ वटा सवारीलाई कारबाही गरेको छ ।







