काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा नेपाल उद्योग परिसंघमा आवद्ध व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ। परिसंघका अनुसार २९ सदस्य व्यवसायीहरूलाई मात्रै करिब १३ अर्ब २८ करोड ८९ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको तथ्यांक सार्वजनिक भएको हो।
परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण ठूलो मात्रामा निजी सम्पत्ति नष्ट भएको छ।
मन्त्रालयले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गर्दै विभिन्न व्यवसायिक फर्महरूलाई पत्राचार गरेको थियो। सो क्रममा विशेषगरी भदौ २४ गते भएका आगजनी घटनामा सरकारी र निजी दुवै सम्पत्तिमा व्यापक क्षति पुगेको उल्लेख गरिएको छ।
नेपाल उद्योग परिसंघका अनुसार, उद्योग र व्यापारिक प्रतिष्ठानहरूमा भएको क्षतिका कारण उत्पादन, ढुवानी, आपूर्ति श्रृंखला र लगानी वातावरणमा गम्भीर असर परेको छ।
प्रारम्भिक अनुमानअनुसार, उपत्यका मात्र होइन, देशभरका औद्योगिक क्षेत्रहरूमा खरबौं मूल्य बराबरको क्षति हुन सक्ने देखिएको छ।







